MENU

सुष्मा गुरुङ

続きを読む

सुष्मा गुरुङ🇳🇵
रुचि: शिक्षण, उपन्यास पढ्ने, नयाँ ठाउँ घुम्ने


१४ बर्षकी हुँदा (कक्ष-७मा पढ्दै गर्दा) मैले एक्कासी सुन्ने क्षमता गुमाएकी हुँ । त्यतिबेला म धेरै निराश भएकी थिएँ । मेरा अभिभावकले मेरो कानको समस्या निको हुने आशमा नेपालका थुप्रै अस्पताल लैजानुभयो तर अफसोस म निको भइनँ र मेरो कानको नशा सुकेको छ भन्ने जवाफ डाक्टरहरुबाट आयो । म पूर्ण बहिराभएकोले मैले मेरो पढाइलाई निरन्तरता दिन सकिनँ । म पढाइमा धेरै तेज विद्यार्थी थिएँ तर जब म एक्कसी बहिरा भएँ मैले आफुलाइ सम्हाल्नु सकिनँ र दिन-रात अँध्यारो कोठामा एक्लै बसिरहन्थथें । मलाई कसैसित घुलमिल हुन मन लाग्दैन थियो । कहिलेकाहीं, घरमा आफन्तहरु आउँदा मलाई ‘लाटी’ भनी बोलाउँथे जुन शब्दले साह्रै पिरोल्थ्यो । यसरी नै ३ बर्ष बित्यो । 

एकदिन मैले छिमेकीबाट मजस्तै बहिराहरु धेरै हुन्छन्, उनीहरुले पढ्ने विद्द्यालय छुट्टै हुन्छ र उनीहरु साङ्केतिक भाषाको प्रयोग गरी कुराकानी गर्छन् भन्ने थाहा पाएँ। मजस्तै बहिरा साथीहरु हुन्छन् भन्ने थाहा पाउँदा म धेरै खुशी भएँ अनि त्यसपछि म बिराटनगर र धरान मा भएको बहिरा विद्द्यालय हेर्न गएँ । त्यहाँ बहिरा साथीहरु भेट्दा म अति खुशी भएँ, तिनीहरुसित कुरा गर्न चाहन्थे तर मलाइ त्यतिबेला साङ्केतिक भाषाको ज्ञान थिएन | त्यसपछि म मेची बहिरा संघमा ६ महिने साङ्केतिक भाषाको तालिम गर्न गएँ अनि तालिमपछि म फेरि कक्षा ८ मा भर्ना भए । मैले मिहिनेत गरेर प्रथम श्रेणीमा माध्यमिक तह उत्तीर्ण भएँ । मलाई शिक्षक बन्ने धेरै चाहना भएकोले मैले शिक्षा संकाय रोजी कक्षा ११ मा बिर्तामोडको मनकामना कलेजमा भर्ना भएँ । कक्षामा मबाहेक सबैजना सुन्ने थिए तापनि म निराश भइनँ र आफ्नो पढाईमा मिहिनेत गर्दै गएँ । फलस्वरूप मैले कक्षा ११ र १२ मा प्रथम स्थान हासिल गरे । अहिले म स्नातकमा अध्ययनरत छु र भविष्यमा एक असल शिक्षक भएर बहिरा बिद्यार्थीहरुलाई पढाउने र उनीहरुको भविष्य उज्ज्वल बनाउने लक्ष्य लिएको छु ।

हामीमा जस्तोसुकै अपाङ्गता भएतापनि हामीले कहिले पनि हिम्मत हार्नु हुँदैन र आत्मविश्वासी भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो संदेश सबै सुन्ने क्षमता गुमाएकाहरुलाई छ । यो ‘डेफ-शिरु’ संस्थाको उद्देश्यलाई आत्मसात गर्दै यहाँ म एक साङ्केतिक भाषाको शिक्षकको रुपमा काम गर्न थालेकी छु । म सधैं अपाङ्गता भएका ब्यक्तिहरुका हकहितका लागि काम गर्न चाहन्थें र मेरो यो चाहना मित्र शुहेईले पूरा गरिदिनुभएको छ र त्यसैले म उहाँप्रति धेरै आभारी छु | अब आउने दिनहरुमा म आफ्नो कामलाई निरन्तरता दिदै अझै धेरै राम्रो काम गर्ने र ‘डेफ-शिरु´लाई समर्थन गरिरहने छु । धन्यवाद ।