
आफ्नो परिचय खुशीले दिने युवती
नमस्ते, म कानात्सु ओते, जापानबाट | म आफ्नो कथा भन्न चाहन्छु है त |
म प्राथमिक तहमा पढ्दा एकचोटी मेरो सुनाइबाट लिइने परीक्षाको नतिजा नराम्रो आयो | त्यसैले म अस्पताल गएँ र मेरो कानको नशा कम्जोर रहेको कुरा पत्ता लाग्यो अनि त्यहाँदेखि मैले श्रवण-यन्त्र प्रयोग गर्न थालें | मेरा अभिभावकले सधैं यसरी सुझाव दिन्थे, “आफूले नसुने अरुलाई भन्नू र उनीहरुलाई बुझाइदिन सहयोग गर्न भन्नू” | उहाँहरुको यस्तै सुझावका कारण र आफ्ना साथीहरुको राम्रो व्यवहारका कारण मलाई मेरो अवस्था स्वीकार्न सजिलो भयो |
पछि, मैले कुनै पनि अप्ठ्यारो सामना नगरिकन नै विश्वविद्द्यालय प्रवेश गरें | त्यहाँ एकदम नौलो लाग्यो, सबैको पहिरन, विभाग र क्लास फरक-फरक थियो | मेरो कोर्स पनि निकै गाह्रो थियो अनि प्रोफेसरले साह्रो छिटो लेक्चर दिन्थे | त्यतिखेर बल्ल मलाई आफूले धेरै कुरा सुन्न नसकेको कुरा थाहा लाग्यो | त्यतिखेरै, मैले स्कूले दिनहरू सम्झें जहाँ मैले गुरुले भनेका केही कुरा सुन्न नसकेर बिराए पनि साथीहरुको हाउभाउ हेरेर बुझ्थें र जरुरी कुरा धेरैजसो कालोपाटीमै वा पर्चामा लेखिन्थे | मैले यो जानें कि त्यतिबेला म आफ्नो सजिलोको लागि प्रत्यक्ष दृश्यहरु प्रयोग गर्दो रहेछु | यसको साथै त्यतिबेला साथीहरु तथा गुरुहरुले मलाई बोलेरभन्दा अरु नै तरिकाबाट सूचना दिने कुरा पनि सम्झें | यसकारण, विश्वविद्द्यालय मेरालागि एउटा नयाँ चुनौती थियो |
मलाई पहिल्यैदेखि सांकेतिक भाषामा अभिरुची भएकोले म विश्वविद्द्यालय प्रवेश गर्नासाथ जापानी सांकेतिक भाषा सिकाउने क्लबमा आबद्ध भएँ | त्यहाँ मैले थुप्रै बहिरा, सुस्त-श्रवण भएका र सुन्न सक्ने अनुवादकहरुलाई भेटें | जब अरुले बोलेको कुरा म बुझ्दिनथें, तब ती अनुवादकले त्यसलाई सारांशमा बिस्तारै भन्थे र अरु वैकल्पिक उपाय जस्तै संकेतहरु र लिखित संवादको प्रयोग पनि गर्थे | त्यस्तो सजिलो वातावरणमा आएपछि मलाई आफूले अझै धेरै कुरा सिक्नुपर्ने बाँकी रहेछ भन्ने थाहा लाग्यो | यही अनुभवले नै मलाई सुस्त-श्रवण भएको व्यक्तिको परिचय दियो र बहिराहरुको भाषा भनेर चिनिने सांकेतिक भाषा, मेरा लागि पनि ज्यादै नै महत्वपूर्ण सञ्चारको माध्यम बन्यो |

कामको खोजीमा हुँदा अन्तर्वार्ता’bout सोंच्दा मलाई मेरो सुस्त-श्रवणले अयोग्य तुल्याउँछ कि भने चिन्ता लाग्थ्यो | अनि यसले गर्दा म आत्तिन्थें र त्यसैले म अरुको सामु आफ्नो परिचय खुलस्त भन्न सक्दिनथें | अपांगता परिचय-पत्र बनाउनपर्ने किसिमको अपांगता ममा नभएकोले म अपांगता भएका व्यक्तिहरुलाई छुट्टाइएको कोटामा पर्न सकिनँ | फलस्वरूप, अन्तर्वार्तामा मैले आफुले फोनमा राम्ररी सुन्न नसक्ने कुरा भन्न सकिनँ | त्यसबेला मलाई नचाहँदा-नचाहँदै आफ्नो परिचय लुकाउनुपरेकोमा अप्ठ्यारो लाग्यो | तर केही कम्पनीले मेरो कानको श्रवण-यन्त्र देखे र भने, “यसले तपाईको योग्यतामा कुनै प्रभाव पार्नेछैन, त्यसैले हामीलाई आफ्नो अवस्था’bout बताउनुहोस्” | त्यतिबेला म अति रमाएँ किनकि म आफैले आफ्नालागि बोल्न नसकिरहेको बेला उनीहरुले नै मेरो पक्षमा बोलिदिएका थिए | त्यहाँदेखि म आफ्नो परिचय बताउन हिच्किचाउँदिन |
हो, म एक सुस्त-श्रवण भएको व्यक्त्ति हुँ | यद्द्यपी, गहिरिएर सोंच्दा म सोंच्छु कि सार्वजनिकस्थलमा चाहिं म अरु समान नै हुनुपर्छ किनकि म सुन्न सक्ने मानिसहरुलाई ज्यादा भेट्छु र उनीहरुसितै म घुलमिल हुनुपर्छ | त्यसैले अलिकति सुन्न नसकेपनि ठीकै मान्नु पनि ठीकै हो जस्तो लाग्छ किनकी मैले आफू जस्तो छु, त्यस्तै स्वीकार गरिसकेको छु |

पाठकहरुलाई संदेश
म यहाँ सबै सुस्त-श्रवण भएका व्यक्तिहरुलाई यो भन्न चाहन्छु कि विश्वमा मेरोजस्तै भोगाई भएका धेर मानिस छन् | त्यसैले उनीहरुले आफुलाई एक्लो नठानुन् | मलाई लाग्छ उनीहरुले आफूजस्तै अरु व्यक्तिलाई भेट्ने अनि आफ्ना विचार र फिक्री शेयर गर्ने अवसरहरु ज्यादै कम पाउँछन् | अझ, उनीहरुलाई सुन्न सक्ने जमातमै घुलमिल भई जिउनुपर्ने हुन्छ अनि उनीहरु बहिरा समुदायभित्र पनि पर्दैनन् वा समेटिदैनन् तर जे होस्, यहाँ मजस्तै तपाईलाई बुझ्नसक्ने व्यक्ति पनि छन्, त्यसैले आफैलाई अलग्याइएको जस्तो नठान्नुहोस् | अन्तमा, यो लेखद्वारा तपाईहरुलाई आफ्नो जीवन जतिसक्दो सुन्दर बनाउने उत्साह मिल्नेछ भन्ने मेरो आशा छ | धन्यवाद !

Comment