
टोफेलमा आलु
नमस्ते यो म अरुना छन्त्यालको अनुभव हो;
नेपालमा, यदि कोहीले परीक्षामा कम अंक पायो भने, उसले आलु खायो/पायो भनेर भनिन्छ। अनि यस्तो भनाइ नेपालमा प्रख्यात पनि छ। मलाई लाग्छ, आलु “शून्य” को आकारसँग मिल्दोजुल्दो भएकोले यस्तो भनिएको होला तर कुन्नि किन अरु कुनै गोलाकार आकारका फलहरूसित चाहिं तुलना नगरिएको होला है ?जो-कोहीलाई पनि आफूले आलू खाएको कुरा अरुलाई भन्न वास्तवमा लाजमर्दो हुन्छ तर यसको विपरित, यहाँ म भने लाज मान्दिनँ कि अंग्रेजीमा सिपालु मैले पनि टोफेलमा आलु खाएँ, हाहाहा ! हाँसोउठ्दो है ? मैले एक पटक भाई शुहे-सानलाई सोधें, “यदि तपाईं मेरा अंग्रेजी शिक्षक हुनुहुन्थ्यो भने ५० पूर्णांकमा तपाईं मलाई कति दिनुहुन्थ्यो ?” तब उहाँले तुरून्त जवाफ दिनुभयो कि उहाँले मलाई १००% नभई १२०% दिनुहुन्थ्यो रे, हाहाहा !

यदि मेरा शिक्षकहरूको मूल्याङकनको आधारमा नै टोफेलमा पनि अंक पाइने भए नि:सन्देह मैले आलु त पक्कै खाने थिइनँ तर मलाई थाहा छ कि वास्तवमा यो असम्भव छ। जे होस्, पश्चिमी मानक अनुसार अनुमान गर्दा मलाई मेरो स्कोर धेरै नभएपनि ठिक्कको हुन सक्छ भन्ने लाग्थ्यो जुन पक्कै आलु बराबरचाहिं हुँदैनथ्यो। यद्यपि वास्तविकतामा चाहिं, मैले हास्यास्पद रूपमै आलु खाएँ। आखिर त्यस्तो कसरी भयो त, पढौं है त |
यो २०१७ सालको ग्रीष्म ऋतुको कुरा हो, त्यतिबेला मजस्तो मान्छे पनि खुबै विदेशमा पढ्न क्रेजी भएकी थिएँ। मैले भर्खरै एन.एन.सी. कलेज इटहरीको दूर-शिक्षा प्रणालीमार्फत अंग्रेजी माध्यममा ए-ग्रेडसहित बि.टिएच. डिग्री उत्तीर्ण गरेकी थिएँ र त्यसैले एम.टीएच. पनि पढ्न चाहन्थें। तर एम.टिएच. चाहिं दूर-शिक्षा ढाँचामा उपलब्ध थिएन र काठमाडौंका कुनैपनि थेयोलोजी कलेजहरू व्हीलचियरमैत्री थिएनन्, त्यसैले मैले एकपल्ट विदेशमा पढ्ने प्रयास गर्ने सोचें। त्यसपछि, विदेशी कलेजहरूको खोजी शुरू भयो। पहिले मैले दक्षिण कोरियामा कलेज खोजें, त्यसपछि अमेरिकामा अनि अस्ट्रेलियामा पनि तर आफूलाई चित्तबुझ्दो कलेज कतै भेटिनँ | अन्तमा मैले जापानको टि.सी.यु. भेटें जहाँ मलाई चित्त पनि बुझ्यो अनि त्यहीं आवेदन दिएँ |

मैले अमेरिकामा सफलतापूर्वक अध्ययन गरेकी एकजना दृष्टिविहीन र अर्की अस्ट्रेलियामा सफलतापूर्वक अध्ययन गरेकी व्हीलचेयर-प्रयोगकर्ता साथीलाई व्यक्तिगत रूपमा देखे-भेटेकी थिएँ र निकै प्रभावित भएकी थिएँ। त्यसैले मैले सोंचें, ‘किन मैले पनि यस्तै प्रयास नगरूँ ?’ मलाई त्यतिबेलासम्म कुनै बहिरा वा सुस्त-श्रवण भएको व्यक्तिले पनि विदेशमा अध्ययन गर्ने प्रयास गरेको थियो कि थिएन भने कुरा थाहा थिएन, त्यसैले मेरो चंचल मनले मलाई माक्को-सानकोजस्तै सोंचाइले उत्साहित गर्यो अर्थात्, ‘यदि कसैले पनि पहिल्यै प्रयास गरेको छैन भने त्यो गर्ने म नै पहिलो हुनेछु।’

इ-मेल मार्फत पठाइएको मेरो गवाहीसहित मेरो आवेदन स्वीकृत भयो अनि बी.टिएच.मा मेरो शैक्षिक उपलब्धि हेरेपछि मलाई छात्रवृतिको लागि अनुरोध गर्न योग्य भन्दै प्रोत्साहित पनि गरियो। यसको साथै, उहाँहरूले मेरो बहु-अपांगतालाई समेत स्वीकार्नुभयो र टिसियु कलेज पूर्ण अपांग-मैत्री छ भनेर पनि बताउनुभयो। यसैले म झन्झन् उत्साहित भएँ तर सबै प्रक्रियाहरूबाहेक, सबभन्दा जरुरी टोफेलको फलामे ढोका राम्रो अंकसहित मैले पार गर्नैपर्ने थियो। तर अफसोस, मैले यसमा राम्रो आलु पो खाएँ, हाहाहा !
यो बहानाजस्तो लाग्न सक्छ तर सत्य भन्छु, मेरालागि टोफेल-परीक्षाको दिनको अवस्था अप्रत्याशित रूपमा असहज थियो। सर्वप्रथम, मैले अतिरिक्त समयको लागि अनुरोध गरेको भएपनि मलाई यो प्रदान गरिएन। यद्दपि, मलाई अरु ५० पूर्णांकको ‘बोलाइ र सुनाइ खण्ड’ भने दिनुपरेन | अर्को कुरा, परीक्षाभन्दा एक महिनाअघि ममा टिबी रोग भेटियो जसकारण म त्यसको औषधि सेवन गर्दै थिएँ र औषधिले गर्दा मलाई दिनदिनै ज्वरो आउँथ्यो अनि म व्हीलचेयरमा लामो समय थपक्क बस्न सक्दिन थिएँ। ५/१० मिनेटभित्र मलाई जिऊ तन्काइहाल्नुपर्थ्यो नत्र शरीरको सबै पार्ट-पुर्जा चुँड्न लागेझैं हुन्थ्यो । त्यसैले त्यो सीमित छोटो समयमा मैले उत्तर आएपनि राम्ररी टाइप गर्न सकिनँ अनि यसैकारण म अन्तमा भर्नाको लागि चुनिन सकिनँ। मलाई अलिक दुःख त लाग्यो नै तर यो सबै परमेश्वरकै इच्छा हो भनेर स्वीकार गरें।
जे होस्, यो मेरो असफलताको कथाले तपाईं सुन्ने समस्या भएकाहरुलाई निरुत्साहित नगरोस् | यदि तपाईं अंग्रेजीमा अब्बल हुनुहुन्छ र मेरोजस्तो बहु-अपांगताछैन भने तपाईं टोफेलमा राम्रो अंक ल्याई अध्ययनको लागि बाहिर जान सक्नुहुन्छ |
राम्रो आलु खाएपछि, मैले परमेश्वरलाई सोधें, ‘प्रभु, अन्तमा असफल हुनु थियो भने किन मेरो मन चंचल भएर उफ्रँदै थियो ?’ मैले यो प्रश्नको उत्तर दुई वर्ष बित्दा पनि पाइनँ तर हालसालै पो पाएँ | त्यसको उत्तर यो हो, ‘… ताकि भविष्यमा कुनै दिन तैंले यो नराम्रो तर रमाइलो अनुभवको ’boutमा ‘डेफ-शिरु’मा लेख्नेछस् |’ आहा ! प्रभुलाई र पाठकहरुलाई पनि धन्यवाद |
थप भन्नुपर्दा, यदि म टोफेलमा सफल भएको भए म आफ्नै अध्ययनमा यति व्यस्त हुने थिएँ कि नि:सन्देह मैले न त शुहे-सान भाइलाई, न त डेफ-शिरुलाई चिन्न सक्थें | पवित्र बाइबल भन्छ कि परमेश्वरले हाम्रानिम्ति सधैं केही न केही पूर्वयोजना बनाउनुहुन्छ, भलै हामी कतै आलु नै किन नखाऔं | हो, यही कुरा मेरो जीवनमा एकदम सत्य साबित भएको छ | फेरि पनि सबैलाई धन्यवाद !

TOEFL- Test Of English as a Foreign Language
B.Th.- Bachelor in Theology
NNC- Nepal New Covenant
TCU- Tokyo Christian Uiversity
M.Th.- Master in Theology
TB- Tuberculosis
Comment