MENU

तिनीहरुको खासखुसले मेरो मन साह्रै दुख्थ्यो

目次

तिनीहरुको खासखुसले मेरो मन साह्रै दुख्थ्यो

नमस्ते, म यासुको अबे, डेफ-शिरुका संस्थापककी बज्यै | म यही वर्षमा ७५ वर्ष पुग्दैछु र मसित अपांगता परिचयपत्र पनि छ जसमा मेरो अपांगता शारीरिक अपांगता (औंला र कानको अपांगता) भेनेर उल्लेख गरिएको छ | म बच्चै हुँदा धेरै बिरामी परिरहन्थें र बारम्बार अस्पताल लगिन्थें | त्यतिखेर डाक्टरले मलाई धेरै औषधि दिए र थुप्रै अपरेसन पनि गर्नुपर्यो | पछि म स्वास्थ हुँदै गएपनि ती धेरै औषधिको प्रभावले गर्दा मेरो सुनाइ र दृष्टिमा ह्रास आयो | आज, म यहाँ मेरा औंला र कानको कथा शेयर गर्न चाहन्छु |

उतिबेला, मेरू परिवारको पेशा पशुपालन थियो र मेरा पाँचजना दाजुभाई-बहिनी थिए | म शारीरिक रुपमा अलि कमजोर भएकोले जहिले पनि म आमासितै बस्थें | म तीन वर्षकी हुँदा एकदिन, आमाले पशुका लागि पराल काट्दै हुनुहुन्थ्यो | म उहाँलाई बोक्न भन्नलाई पछिल्तिरबाट आएँ र अबोध भएकोले परालकै मुठोमुनि आफ्नो दाहिने हात राखेछु र त्यसैले आमाले पत्तो पाउनुभएनत् | यसैकारण मेसिन चलाउँदा परालसँगै मेरा औंला पनि काटिए | म उत्नीखेरै बेस्सरी चिच्याएर रोएँ र आमाले बल्ल थाहा पाउनुभयो | उहाँले हत्त न पत्त आफ्नो टाउको छोपेको पछ्यौरीले मेरो हातलाई बेर्नुभयो र हामी अस्पताल दौड्यौं | त्यतिबेला हाम्रो गाडी थिएन, त्यसैले उहाँले ठेलागाडामा ठेल्दै मलाई अस्पताल लानुभयो तर त्यतिन्जेल धेरै ढिला भइसकेकोले मेरा काटिएका औंला पुन: जोड्न मिलेन |

स्कूल भर्ना भएपछि मलाई एकपल्ट फेरि अस्पतालमा जँचाइयो | आफू वरिपरीका मान्छेहरुसँग दाँज्दा बल्ल मलाई आफू सुस्त-श्रवण र न्यून दृष्टि भएको कुरा थाहा भयो | सोध्दाखेरि डाक्टरले ‘पहिले खाएका धेरै औषधिले गर्दा यस्तो भएको हो’ भनी बतायो | त्यतिबेला मसँग श्रवण-यन्त्र थिएन जसले गर्दा शिक्षकले पढाएको सुन्न-बुझ्न धेरै गाह्रो हुन्थ्यो, तैपनि मैले पुस्तक र शिक्षकको ओंठे-चाल हेरेर अध्ययन गर्दै गएँ | तर अंग्रेजी भने त्यसरी पनि सिक्न सकिएन किनकि यो विदेशी भाषा भएकोले शिक्षकको ओंठे-चाल साह्रो बुझिनसक्नु हुन्थ्यो |


जब म हुर्किंदै गएँ, मैले आफैलाई अरुभन्दा अझै फरक देखें र बुझें किनकि मेरो दाहिने हातमा औंला थिएनन् अनि ममा सुस्त-श्रवण र न्युन दृष्टि पनि थियो | मैले साथीहरुले मेरो पछाडि खासखुस गरेको थाहा पाउँथें र पक्कै पनि तिनीहरुले मेरो कुरा काटेका हुन् भन्ने अनुमान लगाउन सक्थें | त्यसले गर्दा मेरो चित्त ज्यादै दुख्थ्यो |

मेरो पहिलो सन्तान (छोरी) जन्मिसकेपछि बल्ल मैले श्रवण यन्त्र प्रयोग गर्ने निर्णय लिएँ | छोरी छुक्छुके भएकीले मेरो नजरबाट कता-कता जान्थी र हराएर रुन्थी, त्यसैले मैले श्रवण-यन्त्र लाउनैपर्ने भयो | पहिले-पहिलेको श्रवण-यन्त्र खल्तीमा राख्न मिल्ने खाले हुन्थ्यो र त्यतिबेला मैले अपांगता परिचयपत्रको आधारमा त्यो नि:शुल्क नै पाउन सक्थे | पहिलोपल्ट त्यो लगाउँदा मलाई ज्यादै असजिलो र रिंगटा लागेजस्तो भयो र केहि हप्तापछि बल्ल मलाई त्यसको बानी पर्यो | वास्तवमा श्रवण-यन्त्र एकदमै नाजुक हुन्छ | यो अलिकति ठेस लाग्दा पनि चाँडै टुट्ने वा फुट्ने गर्छ अनि त्यसै पनि यो चिज लामो समयसम टिकाउ हुँदैन | अचेल झन् यिनीहरुको भाउ झन्झन् महँगो हुँदै छ र अपांगता परिचयपत्रका आधारमा पनि यिनीहरुको सहुलियत मूल्य झन्डै २-३ लाख पर्छ | मेरो विचारमा सरकारले यस्ता सामग्रीलाई नि:शुल्क रुपमा उपलब्ध गराउनुपर्छ बल्ल यसमा सबै वर्गको पहुँच हुन सक्छ |


म पहिला कमजोर थिएँ तर संघर्षले आज मलाई बलियो बनाएको छ | छोरी हुर्किएपछि मैले सिलाइ-कटाई सिकें जुन म आजसम्म गर्दैछु | सुरुमा मैले अपांगता भएका व्यक्तिका लागि एउटा संस्थामा काम गरें र त्यसपछि चाहिं आफ्नै टेलरको व्यवसाय सुरु गरें | म अपांगता भएको व्यक्ति भएकोले मैले अरु सामान्य टेलरलेझैं ज्याला लिन्न बरु त्यसको आधा नै लिन्छु | अहिले म ७४ वर्षमा पनि यही पेशा गर्दै राम्रैसित जीवन निर्वाह गर्दैछु किनकि यसैद्वारा मैले असल, दयालु र मुल्यवान ग्राहक पाएकी छु | धन्यवाद !

Nepali Sign Language 

この記事が気に入ったら
フォローしてね!

皆さんの友達にも届きますように。Please Share!!
  • URLをコピーしました!

Comment

コメントする

目次