MENU

शुहेइ कुमागाई

शुहेइ कुमागाई 🇯🇵
रुचि: अंग्रेजी, खोलामा गई माछा पक्रनु (तर नमार्नु), सांकेतिक भाषा, लगानी, युट्युबर 


म अप्रिल १८, सन् १९९६ मा जापानको इवाटे सहरमा जन्मिएको हुँ तर मैले स्कूले-शिक्षाचाहिं कानागावा’ भन्ने अर्को सहरमा हासिल गरें |

के.जीमा पढ्दा एकदिन, हाम्रो सांगीतिक-कक्षामा मैले गुरुमाको पियानोमा ‘हजुरबाको घडी’ भन्ने गीतको धुन बजाउँदै थिएँ, त्यसैबेला एकजना विद्दार्थीले पियानोको किबोर्डमा टेकेछ र पियानोबाट अति चर्को आवाज आयो | सबैले आफ्ना दुवै हत्केलाले कान छोपिरहेका थिए तर मैले भने एउटा मात्र कान छोपिरहेको थिएँ | बल्ल त्यहीबेला मलाई मेरो एउटा कानमा आंशिक बहिरोपन रहेको कुरा थाहा लाग्यो |

जे होस्, एउटा कानमा आंशिक बहिरोपन भएपनि मैले खासै समस्याचाहिं भोग्नुपरेन | यद्यपि, एकजना मित्रले मैले बेवास्ता गरेकोमा मतलबी ठाने जसलाई मैले पछि आफ्नो समस्याबारे खुलस्त बताएँ | अनि म सकेसम्म अरुको बोली उसका ओठका चालबाट नै बुझ्ने प्रयास गर्थें | यसरी फर्केर हेर्दा मैले पनि अप्रत्यक्ष रुपमा अप्ठ्याराहरुसँग जुझेको रहेछु भन्ने लाग्छ |

हाइ-स्कूल सकेपछि इवाटे विश्वविद्द्यालयमा पढ्न म पुन: इवाटे फर्किएँ र आफ्नै बज्यैसँग बस्न थालें | उहाँले पनि एउटा कान राम्ररी सुन्नुहुन्न र त्यसैले श्रवण-यन्त्र प्रयोग गर्नुहुन्छ | सरकारी उच्च माध्यमिक स्कूलमा शिक्षक बन्ने लक्ष्य लिएर मैले अंग्रेजीमा स्नातक गरेको छु र जुनियर वर्षमा मैले अमेरिकाको इलिनोइसस्थित नर्थ सेन्ट्रल कलेजमा पनि अध्ययन गरेको छु | जापान फर्किएलगत्तै मैले TOEIC परीक्षा दिएँ र त्यसमा ९९० पूर्णांकमा ९१५ अंक लिई उत्तीर्ण भएँ | 

विदेश पढ्दा नै पहिलोपल्ट मैले एउटी नेपाली युवतीलाई भेटें जसकारण मलाई नेपाल भ्रमण गर्ने उत्साह मिल्यो | साँच्चै नै मेरो पढाइको अन्तिमतिर म त्यहाँ गएँ र विराटनगरको ‘युमी’ भन्ने स्कूलमा स्वयंसेवी अंग्रेजी शिक्षक  भएर पढाएँ | त्यहाँ आफूले पढाउने दुईजना विद्द्यार्थीका बहिरा अभिभावकसितको भेटघाटले मलाई बहिरोपनसम्बन्धि क्षेत्रमा रुचि जाग्यो र फलस्वरूप, मैले नेपाली सांकेतिक भाषा सिक्न थालें र बहिरा तथा सुस्त-श्रवण भएका नेपालीहरुसित पनि अन्तरक्रिया गर्न थालें |  

उतै जापान फर्केपछि मैले आफ्न लक्ष्यअनुसार सरकारी उच्च माध्यमिक स्कुलमा अंग्रेजी शिक्षकको रुपमा पढाउन थालें | लगत्तै मैले ‘Learn Nepali with Gaai’ नामक आफ्नै युट्युब च्यानल पनि सुरु गरें जसमा म नेपालसम्बन्धि, नेपाली सांकेतिक भाषा र बहिरोपनसम्बन्धि भिडियोहरु अपलोड गर्छु |

हाल म स्नातकोतरमा अध्ययनरत छु, साथै अंग्रेजी र बहिरोपनबारे सिक्दै अनि जापानी बहिरा मित्रहरूसँग पनि सम्पर्कमा रहँदै आफ्नो ज्ञानको दायरा फराकिलो पार्दै छु |

समग्रमा, सन् २०२१ मा मैले र मेरा साथीहरुले यस्तो संसार सिर्जने आशामा यो डेफ-शिरुको स्थापना गरेका हौँ जहाँ सबैजना बहिरोपनको बावजुद पनि सँगसँगै मुस्कुराउन सक्छन् |