MENU

एक मनमोहक कलाकार

目次

एक मनमोहक कलाकार

नमस्ते, म कोतोपुकी, जापानबाट | हाल म एउटा कार्यालयको कर्मचारी हुँ र साथै ‘’शुवा कीरोगुमी कला केन्द्र’मा एउटा बहिरा कलाकार पनि हुँ |

म जन्मँदा सुन्न सक्ने थिएँ रे तर मलाई त्यो याद छैन किनकि मैले दुई वर्षको उमेरमा नै उच्च ज्वरोले गर्दा सुन्ने क्षमता गुमाएँ। त्यो ज्वरो बिस्तारै आफैं हरायो र म पूर्ण रूपमा निको भएँ तर मेरी आमाले मेरो बहिरोपनको बारेमा त्यतिबेला मात्र थाहा पाउनुभयो जब उहाँले कारको हर्न बजाउँदा पनि मैले बाटो नछाडी आफ्नै सुरमा खेलिरहें। अनि आत्तिदै मेरा आमा बुबाले मलाई अस्पताल लैजानुभयो जहाँ डाक्टरले पहिलेको उच्च ज्वरो (टाइफाइड)को कारण मेरो सुन्ने क्षमता गुमेको कुरा बताए।

म शिशु-कक्षादेखि लिएर १२ कक्षासम्मै बहिरा स्कूलमा पढें। हाल चाहिं सांकेतिक भाषालाई व्यापक रूपमा स्वीकार गरिएको भएपनि मेरो पालामा बाहिर स्कूलमै पनि सांकेतिक भाषाको प्रयोगलाई कडा निषेध गरिएको थियो। मैले झुक्किएर कहिलेकाहीं संकेतको प्रयोग गर्थें अनि त्यतिखेरै शिक्षकले मेरो हातमा प्याट्ट हान्नुहुन्थ्यो। उहाँहरुले यस्तो गर्थे ताकि हामी बहिरा भएपनि बोल्न सिकौं र भविष्यमा सुन्नेहरुसँग नै घुलमिल हुन हामीलाई अप्ठ्यारो नपरोस् । यसैकारण, बिस्तारै आफ्नो परिवार र सुन्ने साथीहरूसँग दैनिक मौखिक अभ्यास गरेर कुराकानी गर्न म सक्षम भएँ।

बाल्यकालको मेरो सपना सर्कस जोकर बन्नु थियो किनकि उसले मानिसहरूलाई शब्दबिना हँसाउन सक्छ। तर १२ कक्षा पास भएपछि चाहिं त्यो सपना त्यसै हरायो अनि मैले धेरैजसो समय साथीहरूसँगै बिताउन थालें। म २५ बर्षको हुँदा एकदिन म एउटा पुस्तक-पसलमा रोकिएँ अनि त्यहाँ हाउभाउ र मुखाकृतिबाट व्यक्त गर्न सकिने कलाको बारेमा लेखिएको पुस्तक भेट्टाएँ। त्यो पुस्तक पढिसकेपछि मैले पत्ता लगाएँ कि त्यो एउटा यस्तो कला हो जसमा दुवै सुन्ने र बहिरा व्यक्ति सँगै नाच्न र गाउन सक्छन् |

त्यसपछि म “शुवा किरोगुमी कला केन्द्र”मा सामेल भएँ र बहिरा कलाकारको रूपमा काम गर्न थालें जुन मेरो सपनासँग मेल खान्थ्यो | मानिसहरूलाई मनोरन्जनको साथै बहिरापन र सांकेतिक भाषाको बारेमा जानकारी दिने मेरोलागि यो ठूलो अवसर हो। विगतमा मैले स्कूलमै प्राथमिक तहमा वाद्य-यन्त्रको कम्पन छामेर संगीत सिकेकोले पछि मलाई यस कला केन्द्रमा धेरै काम लाग्यो। त्यहाँ, सबभन्दा पहिले, गीतलाई सांकेतिक भाषामा परिवर्तन गरिन्छ जसको लागि हामी सुन्न सक्ने कलाकारहरूलाई गीतको अर्थ बुझाउन भन्छौं ताकि गीतलाई सांकेतिक भाषामा पूर्ण रुपमा व्यक्त गर्न सकियोस् अनि हामी गीतको संगीतसँग सांकेतिक भाषाको तालमेल पनि मिलाउँछौं। यी चरणहरू दोहोर्याएर हामी सांगीतिक कला सिर्जना गर्छौं जसले सबैलाई मोहित पार्न सक्छ। स्टेजमा प्रदर्शन हुँदा दर्शकहरू सँधै हाम्रो अगाडि हुन्छन् जसका आँखा चम्किरहेका हुन्छन् र हामीलाई उत्साहित पारिरहन्छन्। जब उनीहरूले आफ्नो उत्साह देखाउँछन्, तब म ती क्षणहरूमा ज्यादै आनन्दित हुन्छु।

रो अर्को धोको यो छ, म बहिरा कलाकारको रूपमा सांकेतिक भाषालाई व्यापक बनाउदै पूरै जापानभरि यात्रा गर्न चाहन्छु। त्यसको लागि मेरो पहिलो लक्ष्य टिभी-सिरियलहरूमा सक्रिय भूमिका खेल्नु हो। सामान्यतया, बहिरा व्यक्तिको भूमिका खेल्ने अभिनेता/अभिनेत्रीहरू सुन्न सक्ने नै हुन्छन् तर मेरो विचारमा वास्तविक बहिराहरूले नै यस्तो भूमिका खेल्न सक्छन्। अझैँ भन्नुपर्दा, म सांकेतिक भाषाको समझलाई निरन्तर रुपमा फराकिलो बनाउन चाहन्छु | म एउटा यस्तो समाज सिर्जना गर्न चाहन्छु जहाँ बच्चादेखि बुढासम्म सबैले सजिलै धन्यवाद र शुभ प्रभातजस्ता आधारभूत संकेतहरू प्रयोग गरी एक-अर्कालाई मद्दत गर्न सक्छन्।

बहिरा मानिसहरूलाई मेरो सन्देश: म निश्चित छु कि सबैका आ-आफ्नै सपना हुन्छन्। हामीले त्यो सपना साकार पार्न धेरै प्रयास गर्नुपर्छ। तपाईंलाई धेरै अवरोध आइपर्न सक्छ र “म यो गर्न सक्दिनँ, यसलाई छाड्नुबाहेक मसँग अर्को विकल्प छैन” भन्ने सोंचाई आउन सक्छ तर म तपाईंलाई आफ्नो आत्मविश्वास बलियो पारी लक्ष्यतिर बढेको चाहन्छु। यदि तपाईं कतै अड्किनुभयो भने साथीहरू, अभिभावक वा कोही अग्रजसँग कुरा गर्नुहोस् र सल्लाह लिनुहोस्। अनि तपाईं सफल नहुन्जेल अन्तसम्मै संघर्ष गर्नुहोस् भन्न चाहन्छु।

मेरो सन्देश सुन्न सक्नेहरुलाई: कृपया बहिरोपन र सुस्त-श्रवणलाई कुनै भयानक, दु:खलाग्दो वा दयनीय स्थितिजस्तो नठान्नुहोला। हामी पनि तपाईहरुजस्तै यस समाजलाई निर्माण गर्ने सदस्यहरु हौँ। हामी एक-अर्कालाई मद्दत गरौं र सँगै समाजमा खुशीले बाँचौं। धन्यवाद !

Nepali Sign Language

この記事が気に入ったら
フォローしてね!

皆さんの友達にも届きますように。Please Share!!
  • URLをコピーしました!

Comment

コメントする

目次